नियम बिपरित विद्यालयका रूख काटेर व्यावसायिक सटर बनाउदै प्रेमवस्ती मावि

0
121

प्रदेश ३ का सांसद मिलनबाबु श्रेष्ठ र प्रधानाध्यापक नवराज पौडेलकै पहलमा काटिए रूख

भरतपुर कार्तिक २१ । भरतपुर महानगरपालिका–७ मा रहेको प्रेमवस्ती माध्यमिक विद्यालयभित्र व्यावसायिक प्रयोजनका लागि टहरा निर्माणको काम सुरु भएपछि विवाद चर्किएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्राचार्यले एकलौटी ढंगबाट रूख काटेर विद्यालयलाई व्यावसायिक केन्द्र बनाउन लागेको भन्दै समितिभित्रै विवाद चर्किएको हो ।

उनीहरूले जिल्ला प्रशासन कार्यलयमा निवेदनसमेत दिएका छन् । निवेदन पाएसँगै जिल्ला प्रशासन कार्यालय चितवनले रूख कटान रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सामुदायिक विद्यालयले स्थानीय सरकारसँग अनुमति नलिएको देखिएकाले तत्कालका लागि काम रोक्न निर्देशन दिएको बताए ।

प्रदेश सांसदसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलनबाबु श्रेष्ठ र विद्यालयका प्रधानध्यापक नवराज पौडेलको पहलमा हाल ४० कोठासहितको टहरा निर्माणको काम अघि बढेको छ । निर्माणको ठेक्कासमेत दिइसकिएको छ । एक करोड ४१ लाख रुपैयाँमा दाजुभाइ निर्माण सेवाले ठेक्का पाएको हो ।

खेलमैदानकै अभाव
विद्यालयका सल्लाहकार समितिका सदस्य रामभक्त प्याकुरेलले विद्यार्थीमा खेलमैदानकै अभाव रहेको अवस्थामा शैक्षिक केन्द्रलाई व्यापारिक केन्द्र बनाउन नहुने बताए । ‘हुलाकी मार्गको छेउमा विद्यालय रहेकाले २१ मिटर बाटो छोड्नुपर्छ । कटेरो बनाउँदा १० मिटर जान्छ । खेलमैदान नै हुँदैन,’ प्याकुरेलले भने, ‘विद्यार्थीले राष्ट्रियगान गाउने ठाउँसमेत हुँदैन ।’ विद्यालयको भौतिक संरचना जीर्ण भइसकेकाले संरचना निर्माण र शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्ने वेला भएको सम्पत्ति भाडामा लगाउन नहुने उनको भनाइ छ ।

‘यदि व्यावसायिक कटेराहरू बनाउने नै भए पनि विद्यालयको अवस्था अध्ययन गरेर, खेल्ने–पढ्ने मैदानको अवस्था हेरेर, कार्यविधि बनाएर गर्न सकिन्छ । मनोमानी तरिकाले रूखबिरुवा काट्ने, बार भत्काउने अधिकार कसैसँग हुँदैन ।’

स्थानीय सरकारको अनुमति छैन
विद्यालयले रूख कटान गरी व्यावसायिक टहरा निर्माण गर्न स्थानीय सरकारसँग अनुमति लिएको छैन । भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी सीताराम कोइरालाले स्थानीय सरकारसँग अनुमतिविना त्यस्ता काम गर्न नसकिने बताए । ‘हरेक कुरा कानुनअनुसार चल्नुपर्ने हुन्छ,’ उनले भने, ‘यदि व्यावसायिक कटेराहरू बनाउने नै भए पनि विद्यालयको अवस्था अध्ययन गरेर, खेल्ने–पढ्ने मैदानको अवस्था हेरेर, कार्यविधि बनाएर गर्न सकिन्छ । मनोमानी तरिकाले रूखबिरुवा काट्ने, बार भत्काउने अधिकार कसैसँग हुँदैन ।’

उनले केही महिनाअघि नै विद्यालयमा रूख काटेर व्यावसायिक भवन नबनाउन पत्रचार गरिएको जानकारी दिए । उनले अगाडि भने, ‘विद्यालयको भवन र जग्गा नेपाल सरकारको हो । शिक्षा मन्त्रालयको मातहतमा छ । विद्यालयको व्यवस्थापन समितिको अधिकार हेर्ने हो भने चल–अचल सम्पत्तिको लगत राख्ने र राख्न लगाउने भन्ने छ, भत्काउने अधिकार छैन ।’

रूख काट्न प्रदेश सांसदकै नेतृत्व
भरतपुर महानगरपालिका र प्रदेश सरकारले हाल सबैतिर वृक्षरोपण अभियान चलाइरहेका वेला प्रदेश सांसद श्रेष्ठले रूख कटानलाई प्राथमिकता दिएको भन्दै आलोचना भएको छ । तर, श्रेष्ठले भने विद्यालयको भलाइका लागि रूख काटेको दाबी गरेका छन् । ‘विद्यालयको हितमा दीर्घकालीन सोच राखेर व्यवस्थापन समितिको निर्णयअनुसार नै रूख कटान थालिएको हो,’ श्रेष्ठले भने, ‘विद्यालयलाई आम्दानीको विकल्प दिन मात्र खोजिएको हो । यसमा कसैले चिन्ता लिनुपर्दैन ।’

गत २०७३ मा सर्बाेच्च अदालतले चितवन माबिको मुद्धामा सार्बजनिक जग्गा ब्यबसायिक प्रयोजनका लागी जग्गा लिजमा लगाउने काम नगर्न नगराउन फैसला गरेको थियो । त्यसैको आडमा टेकेर नगर शिक्षा समितीले सटर निमार्ण रोक्न २ पटक सम्म पत्र काटेको थियो । तर बिद्यालय ब्यब्स्थापन समितीले महानगरपालिकाको निर्देशनको समेत उपेक्षा गदै सटर निमार्ण प्रक्रिया सुरु गरेको हो ।

विद्यालयमा हाल कार्यरत ५१ कर्मचारीमध्ये २३ जना निजी स्रोतका छन् । विद्यालयमा १३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । साढे दुई बिघा क्षेत्रफलमा फैलिएको सो विद्यालयकै परिसरमा कलेजसमेत सञ्चालन हुँदै आएको छ । आजको नयाँ पत्रीकामा समाचार छ । 

NO COMMENTS

LEAVE A REPLY