प्रचण्डले अभिभावकत्व लिएर बेवास्ता गरेका अरुणलाई दिनेश कोइरालाले घर बनाइदिने

0
504

भरतपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गत वर्ष गजबको मार्केटिङ गरेका थिए । उनले चितवनका बालक अरुण मुसहरको अभिभावकत्व ग्रहण गरेका थिए । अभिभावकत्व गरेको विषयलाई प्रचण्डले निकै ठूलो मार्केटिङ गरे तर त्यसपछि ती बालकको अवस्थाबारे अहिलेसम्म कुनै सोधखोज गरेका छैनन् । उनी चरम गरिबीमा बाँचिरहेका छन् ।

उनै अरुण मुसहरको परिवारले एउटा न्यानो घर पाउने भएका छन् । उनलाई प्रचण्डले घर बनाइदिन लागेका होइनन्, नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाको पहलमा अरुणको परिवारका लागि घर बनाइन लागेको हो ।

Advertisements

अरुण मुसहर उनै हुन् जसका अभिभावक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन् । ०७५ बैशाखमा अरुणको अभिभावकत्व प्रचण्डले ग्रहण गरेका थिए । प्रचण्डले अभिभावकत्व लिएपछि अरुणको भविष्य बन्ने आशा गरिएको थियो तर उनको वर्तमान नै भताभुंग छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २७ दोद्रेनीमा अरुणको परिवार छाप्रोमा बसिरहेको छ । उनको परिवारको बेहाल अवस्था देखेर दिनेश कोइरालाको पहलमा घर बनाइन लागेको हो । अरुण तथा उनको परिवारसँग प्रचण्डले कुनै सम्पर्क गरेका छैनन् । अरुणको पढाई केकस्तो भइरहेछ भन्ने समेत प्रचण्डले खोजखबर गरेका छैनन् ।

‘मानिस बस्न लायक छाप्रो छैन, अरुणको परिवार बसेको छाप्रोले न चिसो छेक्छ, न वर्षा नै छेक्छ’– दिनेशले भने ।

अरुणको खाजा र स्कुल पोसाकको व्यवस्था भने प्रचण्डले गरिदिएका छन् । ‘अरुण प्रतिभाशाली बालक हुन्, उनको पढाईमा गरिबी बाधक नबनोस् भनेर सहयोग गर्न लागेका हौं’– दिनेशले भने । दिनेशले भने– ‘अरुणको घरमा हजुरआमा, बुवा र एक दिदी छन् । उनीहरुसँग बस्न पनि छैन, खान पनि छैन । आधा पेट खाएर बाँचिरहेका छन् ।’

मुसहर परिवारको आफ्नै जग्गा छैन । सार्वजनिक जग्गामा उनीहरु बसेका छन् । उनीहरु बसेको जग्गामा घर बनाइदिन वडा कार्यालयले लिखित अनुमति दिएको दिनेशले बताए । अरुणका छिमेकी अन्य मुसहर परिवारका लागि पनि आगामी दिनमा घर बनाइदिने दिनेशले बताए ।

उनले भने– ‘सहयोगी हातहरु खोज्छौं र अरुण सहित अरुको घर पनि बनाइदिन्छौं ।’

दिनेश कोइरालासहितको टोलीले गत वर्ष सीता परियारको पनि घर बनाइदिएको थियो । बोल्न नसक्ने सुस्त मनस्थितिकी सीताको भरतपुर १९ स्थित घर आगलागीमा परेको थियो ।

LEAVE A REPLY