एकता प्रक्रिया ढिलाइले पार्टी ‘अन्यौलग्रस्त’ भन्दै आठ उपाय सिफारिस

0
112

काठमान्डौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टी एकता सुदृढ बनाउन आठ उपाय अघि सारेका छन्।

Advertisements

आइतबार स्थायी समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘एकता प्रक्रियालाई पूर्णता दिनमा भएको ढिलाइले संगठन अन्यौलग्रस्त अवस्थामा पुगेको’ भन्दै ती उपाय अघि सारिएको हो।

कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले प्रस्तुत गरेको उक्त प्रतिवेदनमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले पनि हस्ताक्षर गरेका छन्। बैठकमा प्रधानमन्त्री ओली अस्वस्थताका कारण अनुपस्थित थिए।

‘पार्टी संस्थागत छैन। विभिन्न गुटहरू झांगिदै गएका छन्। घात, अन्तर्घात र अराजकताका प्रवृत्ति बढिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनले पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा रहेको औंल्याएको छ। ‘आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहनजस्ता कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणाली पालना भइरहेको छैन,’ प्रतिवेदनमा भनिएको छ।

राजनीतिक प्रतिवेदनले सुझाएका आठ उपायमध्ये मार्क्सवाद-लेनिनवादको दर्शन तथा वैज्ञानिक समाजवादबारे स्कुलिङ सञ्चालन गर्ने र परीक्षा प्रणाली अपनाउने पहिलो बुँदामा छ।

‘पार्टीको रणनीतिक लक्ष्य समाजवाद हो र तत्कालीन ठोस कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद हो भनी स्पष्ट पार्ने,’ प्रतिवेदनले भनेको छ, ‘पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जनताको बहुदलीय जनवादको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदानलाई व्यवस्थित रूपले पार्टीमा स्थापित गर्ने।’

पार्टीका राजनीतिक प्रकाशनहरूको अध्ययन र छलफलमा सिंगो पार्टी पंक्तिलाई सरिक गराउनुपर्ने प्रतिवेदनले सुझाएको छ।

पार्टी र सरकारविरुद्ध भ्रम छर्ने गरी बोल्ने, लेख्ने तथा पार्टी नीतिविपरीत भेला, बैठक बन्द गर्ने भनिएको छ। पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रूपमा विकास गर्दै अनुशासनहिन काम गर्नेलाई कारबाहीको दायरमा ल्याउने उल्लेख छ।

प्रतिवेदनले सबै पार्टी कमिटी, विभाग, मोर्चा र संयन्त्रहरूको कम्तिमा तीन महिनाको कार्ययोजना तयार पारी कार्यान्वयनमा जानुपर्ने भनेको छ।

यसमा पार्टीको आगामी कार्ययोजनासमेत छ। दसवटा कार्यक्रमको पहिलो बुँदामा माघ पहिलो साताभित्र केन्द्रीय समिति बैठक बोलाउने भनिएको छ। २०७४ जेठमा पार्टी एकता हुँदा बसेको उक्त बैठक त्यसयता अहिलेसम्म बस्न सकेको छैन।

केन्द्रीय समिति बैठकबाट तीनमहिने ठोस कार्यक्रम निर्धारण गरी सातै प्रदेशमा भेला, प्रशिक्षण र बैठक सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख छ।

कम्युनिस्ट पार्टीमाथि अधिनायकवादीको झूटो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास भइरहेको प्रतिवेदनमा छ। राजाको पक्षमा रहेका र परिवर्तनविरोधी यथास्थितिवादी शक्तिहरूले अँध्यारो कोठामा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न नछाडेको पनि उल्लेख छ।

LEAVE A REPLY