प्रचण्डको प्रतिष्ठा गासिँदा पाँच परिवारको खुल्यो भाग्य

0
131

भरतपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रतिष्ठा जोडिएपछि भरतपुरमा विपन्न पाँच परिवारलाई अचानक चिठ्ठा परे सरह भएको छ । भरतपुर महानगरपालिका २७ को सार्वजनिक जग्गमा झुपडीमा बस्दै आइरहेका ती परिवारले अब घर पाउने भएका छन् ।

Advertisements

दुई कक्षा पढ्ने नौ वर्षीय अरुण मुसहरका कारण पाँच परिवारको घर बन्न लागेको हो । गत वर्ष अरुणको अभिभावकत्व ठूलो प्रचारप्रसार गर्दै दाहालले लिएका थिए । तर, प्रचार गरिए अनुसार उनी अरुणका अभिभावक जस्तो बनेनन् । अरुणको परिवार अत्यन्तै विपन्न अवस्थामा वर्षा र जाडो केही नछेक्ने छाप्रोमा बसिरहेको समाचार सार्वजनिक भयो । त्यसपछि अरुणका लागि घर बनाइदिन कांग्रेसका युवा नेता दिनेश कोइराला अगाडि सरे ।

दिनेशले पहिले अरुणको घर बनाइदिने, त्यसपछि अरुणको छिमेकका अन्य चार मुसहर परिवारको पनि घर बनाइदिने घोषणा गरे । अरुणको घर बनाइदिन अनुमति माग्दै उनले वडा कार्यालयमा निवेदन दिए । वडाले २७ मंसिरमा दिनेशलाई लिखित अनुमति दिएको थियो ।

पाँच परिवारकाे घर बनाउने क्रममा दिनेशकाे टाेलीले सबैभन्दा पहिले अरुणकाे परिवारकै घर बनाइदिने निर्णय गरेर उनीहरुकाे छाप्राे भत्कायाे । अरुकाे परिवारलाई दुई तीन दिन अन्यत्र बस्ने व्यवस्था मिलायाे । छाप्राे भत्काइसकेपछि महानगरपालिका हर्कतमा अ‌ायाे ।

दाहालले अभिभावकत्व लिएको घोषणा गरेका तर विचल्ली अवस्थामा रहेका अरुको परिवारको घर कांग्रेस नेताले बनाइदिने भएपछि दाहाल परिवारमा खैलाबैला मच्चियो । त्यसपछि दाहालकी छोरी तथा भरतपुर महानगरकी मेयर रेणु दाहालले पाँच मुसहर परिवारको घर महानगरको खर्चमा बनाइदिने भइन् ।

महानगरले दिनेशलाई घर नबनाउन दवाब दियो । दवाब मात्र दिएन, दिनेशलाई एक पत्र नै पठाएर घर नबनाउनु भनेको छ ।

अब के गर्नुहुन्छ ? यो प्रश्नको जवाफमा नेता कोइरालाले भने– ‘म खुसी छु, महानगरले नै बनाइदिने भएपछि राम्रो भयो । पाँच मुसहर परिवारले घर पाउने भए । हाम्रो उद्देश्य उनीहरुले न्यानो घर पाउन् भन्ने थियो, उद्देश्य पूरा भएको छ ।’

अरुण सहित पाँच परिवारको घर बनाउन दिनेशले चितवनका मनकारी मानिसहरुको समूह बनाएका थिए । अब त्यहाँ घर बनाउन लाग्ने खर्चले चितवनमै अरु कोही विपन्न परिवारको घर बनाइदिने उनले जानकारी दिए ।

LEAVE A REPLY