भारत र चीनसँग सीमा जाेडिएका ११४ ठाउँमा बोर्डर आउट पोस्ट तैनाथ हुदै

0
113

काठमाण्डौ । सरकारले सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी बल तैनाथ गर्ने भएको छ ।

Advertisements

मन्त्रिपरिषद् बैठकले भारत र चीनसँग सीमा जोडिएका १ सय १४ ठाउँमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरी सशस्त्र प्रहरी राख्ने निर्णय गरेको छ ।

बिहीबार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै बीओपी स्थापनापछि सीमा क्षेत्रमा देखिने विवाद कम हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल भारत र नेपाल चीन तर्फका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट थप गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यसअघि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १ सय ७ वटा बीओपी थिए ।

यस्तै सरकारले दार्चुलाको दुर्गम गाउँ छाङरुमा घोडेटो बाटो बनाउने निर्णय पनि गरेको छ । भारतसँग सीमा विवाद भएको यो ठाउँमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने बाटो पनि निर्माण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

सरकारले संघीय मामिला मन्त्रालयमार्फत व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुबाट वडा नम्बर २ दुम्लिङसम्मको घोडेटो बाटो बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

यो बाटो नबन्दा नेपालीहरु आफ्नै भूभाग पुग्न पनि भारतीय बाटो प्रयोग गरेर जानु पर्ने बाध्यता छ ।

छाङरु विवादित क्षेत्र लिपुलेकसँग जोडिएको छ । नेपालको आफ्नै भूभाग भए पनि भारतले केही समयअघि सार्वजनिक गरेको राजनीतिक नक्सामा लिपुलेकसहित कालापानी र लिम्पियाधुरालाई आफ्नो भन्दै राखेको छ ।

यो क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापनापछि सीमा विवाद कम गर्न सकिने विश्वास सरकारको छ ।

यस्तै सरकारले सुदूर पश्चिम प्रदेशको मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव बालकृष्ण घिमिरेलाई भने सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने निर्णय गरेको छ ।

LEAVE A REPLY