खण्डग्रास सूर्यग्रहण जारी , साढे ११ बजेसम्म रहने, ‘रिङ्ग अफ् फायर’ नेपाल बाट नदेखिने

0
114

काठमाण्डौ । खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । नेपालमा अहिले बिहान ८ः४२ मा सुरु भएको ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ । बिहान ११ः३१ मा गहण सकिने छ ।

Advertisements

सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेटको हुनेछ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त हुनेछ । ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।

खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देख्न सकिन्छ ।

ग्रहणलाई खुला आँखाले भने हेर्न नहुने खगाेलविद् तथा ज्याेतिषशास्त्रीहरुले सुझाएका छन् । दूरबिन आदिको प्रयोगबाट भने ग्रहण हेर्न सकिन्छ ।

सूर्य वा चन्द्रमाको पूरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ ।

‘रिङ्ग अफ् फायर’ नेपाल बाट नदेखिने
बिहीबारकाे सूर्यग्रहणको नेपालबाट खण्डग्रास मात्र देखिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीले जनाएको छ ।

सोसाइटीले प्रेस विज्ञप्ति निकालेर नेपालबाट वलय सूर्यग्रहण नदेखिने भएकाले ‘रिङ्ग अफ् फायर’ नेपालको कुनै पनि भूभागबाट देख्न नसकिने जानकारी दिएको हो ।

नेपालको पूर्वी भागबाट सन् १९६५ नोभेम्बर २३ तारिखमा बिहान देखिएको ‘रिङ्ग अफ् फायर’ नेपालले अब सन् २०६४ फेब्रुअरी १७ तारिखमा मात्र देख्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

वैज्ञानिक मान्यताअनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै हानी नहुने विज्ञप्तिमा उल्लेख छ । बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण १० बजेर १ मिनेटमा मध्य र ११ बजेर ३१ मिनेटमा सकिनेछ ।

ग्रहणको समयमा नेपालबाट १० बजेतिर सूर्यको झण्डै ४० प्रतिशतसम्म भाग ढाकिएको देख्न सकिने सोसाइटीले जनाएको छ ।

नेपालबाट देखिने खण्डग्रास सूर्यग्रहण हेर्न बिहान साढे ६ देखि पौने १२ बजेसम्म काठमाण्डौको बत्तिसपुतलीमा रहेको सोसाइटीको कार्यालयमा जान सकिने सोसाइटीले जनाएको छ ।

LEAVE A REPLY