धनुषामा बम विस्फोट चन्दा नदिएका कारण घटाइएको पाइयो : प्रहरी

0
172

धनुषा । गएकाे मंसिर २७ गते प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोट चन्दा नदिएका कारण घटाइएको पाइएको छ ।

Advertisements

प्रदेश २ का प्रहरी प्रमुख तथा डीआइजी प्रद्युम्नकुमार कार्कीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकाे नाउँमा आपराधिक क्रियाकलापमा संलग्न रहेकाहरुले टाइम बम बिष्फोट गराएको जानकारी गराउनु भएको हो ।

घटनामा संलग्नहरुको पहिचान गरी उनीहरुमध्ये ५ जनालाई नियन्त्रणमा लिइएको कार्कीले बताउनु भयो । संलग्नहरुलाई कर्तव्य ज्यान र विस्फोट मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइसकिएको छ । बम राख्ने र पड्काउने मुख्य योजनाकार भने अझै फरार रहेका छन् ।

प्रहरीका अनुसार भूमिगत समूहमा संलग्न रहेर पहिले पहिले आपराधिक क्रियाकलाप गरेकाहरु विप्लव समूहको खोल ओढेर अहिले धम्क्याउने, पैसा उठाउने र आपराधिक क्रियाकलाप गर्ने घटनामा संलग्न हुँदै आएका छन् । उनीहरुले स्थानीय राजेश्वर साहसँग पटक–पटक धम्क्याएर चन्दा माग्दै आएका थिए । साहले चन्दा नदिएपछि बम विस्फोट गराएको अनुसन्धानको क्रममा देखिएको छ ।

राजेश्वर साह स्थानीय औषधिकाे व्यवसायी रहेकाे र ब्याजमा रकम लगानी गर्ने काममा संलग्न रहँदै आएका थिए ।

पैसा नदिँदा पटक–पटक राजेश्वर धम्काइएको र नमानेपछि रिसको झोकमा शाहको घर अगाडि टाइम राखेर प्रहरी त्यहाँ पुग्दा नियोजित रुपमा बम विस्फोट गराइएको अहिलेसम्मको अनुसन्धानमा देखिएको डिआइजी कार्कीले बताउनु भयो ।

प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय धनुषा, केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालयबाट अनुसन्धानका लागि गठन गरिएको टोलीले संयुक्त रुपमा विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको डीआइजी कार्कीको भनाइ छ ।

गएकाे मंसिर २७ गते राति भएको बम विस्फोटमा परेर प्रहरी निरीक्षक अमिर दाहाल, घरमूली राजेश्वर साह, आनन्द साहसहित ३ जनाको ज्यान गएको थियो । घटनामा एक प्रहरी जवान सहित ३ जना गम्भीर घाइते भएका थिए । हाल उनीहरु उपचारको क्रममा रहेका छन् ।

LEAVE A REPLY