‘सभापतिहरुको भेला आन्तरिक विवाद समाधानको प्रयास’

0
272

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

Advertisements

संस्थापन पक्षले यही पुस ११ गते एकलौटीरुपमा विधानका दफा निलम्बन गर्ने र आगामी १४औं महाधिवेशनको मिति घोषणा गरेपछि रुस्ट बनेको असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

भेलामा ४० भन्दा बढी जिल्लाका सभापतिहरुको सहभागिता रहेको छ ।

पुस ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारकाबीच सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको कार्यतालिका, विभागको संख्या थप्ने र पार्टी विधानका दफा निलम्बन गर्ने निर्णय गराएका थिए ।

सभापति देउवाका एकलौटी निर्णय सच्याउन दबाब दिनको लागि पौडेल पक्षले सभापतिको भेला बोलाएको हो ।

भेलामा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहान्त्री प्रकाशमान सिंहलगायत पौडेल पक्षका नेताहरु सहभागी छन् ।

भेलामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने बताइएको थियो । तर, सोमबार अपराह्नसम्म सिटौला र उनी पक्षका जिल्ला सभापतिहरु सहभागी भएका छैनन् ।

भेलामा सहभागी जिल्ला सभापतिहरुले पुस ११ गते गरेका निर्णय सच्याउन र पार्टीलाई विधि र विधानसंगत ढंगले चलाउन माग गरेका छन् ।

भेलामा सहभागी धादिङ कांग्रेसका सभापति रमेश धमलाले विधि र विधानविपरीतका निर्णय फिर्ता, पार्टीलाई विधि–विधानअनुसार चलाउन र आगामी महाधिवेशनको सुनिश्चितताको लागि सभापतिको भेला भइरहेको दाबी गरे ।

कतिपयले गुटगत भेला र पार्टीभित्रको विवाद आगामी महाधिवेशन आफ्नो पक्षमा पार्ने रणनीतिको रुपमा यसलाई लिएका छन् ।

तर, कांग्रेसका रोल्पा जिल्ला सभापति अमरसिंह पुनले सभापति देउवाले इतिहासमै पहिलोपटक बहुमतबाट महाधिवेशन कार्यतालिका तोक्ने र विधानका दफा निलम्बन गर्ने काम गरी गलत नजिर स्थापित गरेको भन्दै नेतृत्वलाई सच्याउन दबाबस्वरुप भेला भएको जिकिर गरे ।

त्यसो त पौडेल र सिटौला पक्षले बहुमतको निर्णय सच्याउनुपर्ने ‘बटमलाइन’ अघि सारेका छन् ।

पार्टीभित्रको विवाद समाधानमा सक्रिय केन्द्रीय सदस्य बद्री पाण्डेले सभापतिहरुको भेला आन्तरिक विवाद समाधानको प्रयास भएको बताए ।

पौडेल पक्षले जिल्ला सभापतिसँगको परामर्श र छलफलपछि सभापति देउवाविरुद्धको रणनीतिबारे निर्णय लिइने रणनीति लिएको छ ।

LEAVE A REPLY