उवासंघ चितवनमा चुनावी सरगर्मी : चुननारायणको समर्थन ज्ञानेन्द्रमानलाई

0
7

चितवन । उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि नयाँ ध्रुविकरण भएको छ । राजु श्रेष्ठको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका चुननारायण श्रेष्ठले मनोनय दर्ताको भोलीपल्ट शनिवार समिकरण फेरेर अध्यक्षमा ज्ञानेन्द्रमान शाक्यलाई समर्थन गरेको घोषणा गरेका छन् । नारायणगढको होटल रेड कार्पेटमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफू शाक्यको प्यानलमा रहेको बताए ।

यसअघि शाक्यको प्यानलबाट बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिएका विष्णु कंडेलले उम्मेद्वारी फिर्ता लिने भएका छन् । उनको उम्मेद्वारी फिर्ता संगै चुननारायण निर्विरोध हुने पक्का भएको छ । यस्तै निर्विरोध उपाध्यक्ष भएका सुमन कुमार श्रेष्ठ र भोजराज कौडेल पनि शाक्यको पक्षमा उभिएका छन् ।

चुननारायणले आफु सहमती अनुसार नै राजु श्रेष्ठको विरुद्धमा अध्यक्षमा उम्मेद्वारी नदिएको बताए । उनले राजनीतिक प्रभावमा पारेर सहमती गराइएको आरोप लगाए । एक हप्ता अघि मात्रै पूर्व अध्यक्षहरुको रोहवरमा संस्थापन पक्षबाट राजु श्रेष्ठलाई अध्यक्ष र चुननारायण श्रेष्ठलाई बरिष्ठ उपाध्यक्षको उम्मेद्वार बनाउने घोषणा गरिएको थियो । गोलापर्थाद्धारा गरिएको सहमती अनुसार गोलाप्रथा जित्नेले अध्यक्ष र अर्काले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरिएको थियो । सो समहती अनुसार कतिपयले विजयी भएको झै गरेर राजु श्रेष्ठलाई बधाई दिएका थिए ।

पछिल्लो समिकरणले उवासंघ चितवनको निर्वाचन राजनीतिक कित्तामा विभाजन भएको छ । नेकपाको समर्थन श्रेष्ठ र काँग्रेसको समर्थन शाक्यलाई भएको प्रष्ट देखिन्छ । पछिल्लो समिकरणले निर्वाचन थप पेचिलो बन्ने उद्योगी व्यवसायीको आकलन छ ।

यसअघि हिजो नयाँ नेतृत्वका लागि दुई जनाको उम्मेद्वारी परेको छ । निर्वाचन प्रक्रिया अन्तरगत शुक्रबार भएको मनोनयन दर्ताको क्रममा अध्यक्षमा राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यले उम्मेद्वारी दर्ता गराएका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षका लागि चुननारायण श्रेष्ठ र विष्णुप्रसाद कँडेलको उम्मेद्वारी परेको निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । यस्तै संघको तीन जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जीवि सुवेदी, वाणिज्य तर्फ सुमन कुमार श्रेष्ठ र वस्तुगत कर्पोरेट, क्षेत्रीय संगठित सदस्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा पनि निर्वाचन हुने भएको छ । उद्योग तर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, इ।कृष्णप्रसाद रिजाल, दुर्गाप्रसाद गौतम, विनोद पौडेल, भानुभक्त न्यौपाने, योगिता पिया, लिलबहादुर क्षेत्री, सोमप्रसाद काप्रीले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै वाणिज्यतर्फ सदस्यमा आनन्दराज राउत, चेतनारायण सापकोटा, थिरप्रसाद धिताल, पाण्डव ढकाल, बद्री पौडेल, राजेन्द्र सिग्देल, लक्ष्मी रिमाल पौडेल, विकास थापा, शिवप्रसाद ओझा, ज्ञानुप्रसाद ओझाले उम्मेद्वारी दर्ता गराएका छन् ।

यसैगरि वस्तुगत सदस्यतर्फ इश्वरीप्रसाद खराल, तारानाथ पाठक, दुर्गादत्त कँडेल, धनप्रसाद पोख्रेल, विनोदप्रसाद तिमिल्सिना, शर्मिला न्यौपाने, हेमराज पौडेलले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । त्यस्तै महिला सदस्यमा समेत निर्वाचन हुने भएको छ । एक जना महिला सदस्यका लागि विमला अधिकारी र रजनी मास्केको उम्मेद्वारी परेको छ ।

यसैगरि कर्पोरेट तर्फको सदस्यमा भने राजेन्द्र ओली र शिरिष पन्त, क्षेत्रीय संगठित सदस्यतर्फ मुक्तिकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । -नारायणीअनलाइनमा समाचार छ ।

LEAVE A REPLY