कांग्रेस विवाद चर्कंदै, यस्तो छ पौडेलको चेतावनी

0
144

काठमाडौं । नेपाली कांग्रेस आन्तरिक द्वन्द्वमा रुमल्लिएको छ । सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षले उठाएका सरोकारहरु सम्बोधन गर्न ढिला गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी विभाजनसम्मको चेतावनी दिन थालेको छ ।

Advertisements

नेपाली कांग्रेसमा गुटगत शक्ति संघर्ष कुनै नौलो घटना होइन । यसपटक पनि सभापति देउवाले बहुमतको बलमा असन्तुष्ट पक्षको बहिस्कारबीच पार्टीको १४औं महाधिवेशन, क्रियाशील सदस्यता वितरण, विभागहरुको गठनलगायतका निर्णय लिएपछि पौडेल पक्ष आक्रोशित बनेको देखिन्छ ।

देउवाको अभियानमा ‘ब्रेक’ लगाउने अभियानअन्तर्गत् पौडेल पक्षले आफू समर्थक जिल्ला सभापतिहरुको भेला नै आयोजना गर्‍यो ।

भेलाले देउवाबाट पेलिएर बस्न नहुने निष्कर्ष निकाल्दै सभापति पछाडि नहटे ‘अप्रिय निर्णय’ लिन तयार रहन पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेतालाई सुझाव दियो ।

अहिले असन्तुष्ट पक्षले महाधिवेशन कार्यतालिकासहितको निर्णय संशोधन गर्न झनै चर्को दबाब दिन थालेको छ ।

यही विषयमा दुई दिनअघिमात्र सभापति देउवाले वरिष्ठ नेता पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरे । यसक्रममा पौडेलले आफ्नो अडानलाई सशक्त ढंगले राखे ।

१४औं महाधिवेशनबाट नेतृत्व लिने होडबाजीले कांग्रेस नेताहरुबीचको आन्तरिक विवाद झनै चर्किने देखिएको छ ।

एकार्कालाई नेतृत्वमा आउन नदिने रणनीतिमा नेताहरु कम्मर कसेर लागेका छन् ।

आगामी महाधिवेशनमा देउवालाई पुनः सभापति बन्नबाट रोक्न इतर पक्ष राम्रै कसरतमा जुटेको देखिन्छ । दैनिकजसो छलफल र गुटगत भेला पनि गरिरहेका छन् ।

पौडेल पक्ष देउवाले महाधिवेशन आफूअनुकूल बनाउन लागेको ठानिरहेको छ ।

पौडेलले देउवाले पेलेरै जाने रणनीति लिइरहे उनलाई ठीक लगाउन महासमिति बैठकदेखि महाधिवेशन प्रतिनिधि बैठक गर्दै तल्लो तहसम्म अभियान चलाउने चेतावनी दिए ।

१४औं महाधिवेशन नजिकिएको बेला कांग्रेसको आन्तरिक द्वन्द्वलाई अबको नेतृत्वमा पुग्ने रणनीतिका रुपमा लिन सकिन्छ ।

LEAVE A REPLY