विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टिम बन्द प्रशिक्षणमा

0
190

काठमाडौं । विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत् अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपालले बुधबारदेखि बन्द प्रशिक्षण थालेको छ ।

पोखरा रंगशालामा मुख्य प्रशिक्षक उमेश पटवालबिना नै थालिएको बन्द प्रशिक्षणमा महत्वपूर्ण खेलाडीहरुसमेत उपस्थित छैनन् ।

कतिपय खेलाडीहरु मनमोहन मेमोरियल एमएम कप एकदिवसीय क्रिकेटमा व्यस्त रहँदा प्रशिक्षणमा बोलाइएका २४ मध्ये १७ जनामात्र सहभागी भएका छन् ।

पटवाल पुस २७ गतेभित्र भारतबाट आइसक्ने भनिएपनि नआउँदा जगत टमाटाले प्रशिक्षण सम्हालिरहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारसम्म पटवाल आइपुग्ने बताएको छ ।

आर्मी फाइनलमा

यसैबीच, त्रिभुवन आर्मी क्लब एमएम कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको इनरुवामा जारी प्रतियोगिताको बुधबारको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर–३ लाई ६४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४६ ओभर ३ बलमा ‘अलआउट’ हुँदै २१६ रन बनाएको थियो ।

अनिल मण्डलले ४३ तथा कुशल मल्लले ३७ रन बनाए ।

गौतम केसीले ४ तथा तिलक भण्डारी, नन्दन यादव र इशान पाण्डेले समान २/२ विकेट लिए ।

जवाफमा प्रदेश–३ ले ३८ ओभर १ बलमै अलआउट हुँदै १५२ रनमात्रै बनायो ।

सोनु तामाङले ७४ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।

आर्मीका सुशन भारीले ३ तथा शाहब आलमले २ विकेट लिए ।

अब फाइनलमा आर्मीले नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीचको बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासित खेल्नेछ ।

LEAVE A REPLY