शनिबारदेखि मौसम क्रमशः खुल्ने

0
37

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको हो । योक्रम शुक्रबार रातिसम्मै रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा शनिबार बिहानबाट मौसममा क्रमशः सुधार हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

‘काठमाडौंमा भोलि (शनिबार) आजजस्तो निरन्तर वर्षा हुने सम्भावना देखिँदैन । मौसम पूर्णरुपमा पनि खुल्दैन । घाम पनि लाग्ने देखिन्छ । हल्का वर्षाको सम्भावना पनि छ’–उनले इमेजखबरसित भनिन् ।

शुक्रबार काठमाडौं उपत्यका आसपासका फूलचोकी, चन्द्रागिरिलगायतका स्थानमासमेत हिमपातको सम्भावना रहेको उनले बताइन् ।

उनकाअनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।

मौसम पूर्वानुमान बुलेटिन

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै, पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शुक्रबार राति

महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका केही स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शनिबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आइतबार

आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली भइ पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

आइतबार राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

चिसोबाट जोगिनोस् !

महाशाखाले देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, चिसोबाट बच्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

आउँदो २४ घन्टाका लागि परामर्श दिँदै महाशाखाले यस्तो अनुरोध गरेको हो ।

वर्षा

महाशाखाको पछिल्लो तथ्यांकअनुसार भैरहवामा सबैभन्दा बढी ३९ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै, दाङमा २७ मिलिमिटर, वीरेन्द्रनगरमा २४, पोखरामा २३, काठमाडौंमा २१, नेपालगन्जमा १० मिलिमिटर वर्षा भएको छ । यो बिहीबार बिहान पौने ९ बजेदेखि शुक्रबार बिहान पौने ९ बजेसम्मको तथ्यांक हो ।

तापक्रम

महाशाखाकाअनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

LEAVE A REPLY