माडीमा अनसनरत वडा अध्यक्ष पौडेलको स्वास्थ्य स्थिति बिग्रिदै, कांग्रेसले चक्का जाम गर्दै

0
91

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको माडी नगरपालिकामा ४ दिनदेखि आमरण अनसन बसेका वडाध्यक्षको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ । निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनुपर्ने, निकुञ्जबाट बढी प्रभावित वस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, रिउ करिडोरको निर्माण गरी मानव र वन्यजन्तुको द्वन्द निवारण गर्नुपर्ने लगायतका ७ सुत्रिय माग सहित वडाध्यक्ष कृष्णप्रसाद पौडेल ४ दिनदेखि आमरण अनसनमा छन् । माडी–१ का वडासदस्यहरु, स्थानीय समेत पालैपालो अनसनमा बस्दै आएका छन् ।  अनसनरत पौडेलको स्वास्थ्यमा खराबी आउन थालेपनि स्थानीय सरकार र केन्द्रीय सरकारले चासो नदिएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । उनले राखेका मागप्रति सुनवाई नभएको भन्दै १ घण्टा चक्काजाम गरिदैछ । कांग्रेस नगर समिति माडी, प्रदेश समिति क्षेत्रनम्बर ३(ख) को आयोजनमा गरिएको चक्जाम दिउसो १२ बजेदेखि १ बजेसम्म हुने जनाइएको छ ।
अनसनस्थल बरुवा चौतारा नजिकैको हुलाकी सडकमा चल्ने सवारी १ घण्टा चल्न नदिइने भएको छ । अतिआवश्यक सवारी र एम्बुलेन्समा कुनै अवरोध नगरिने जनाइएको छ ।
अनसनरत वडाध्यक्षको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस जिल्ला सचिव उत्तम जोशी, महासमिति सदस्य दिनेश कोइराला लगाएत माडी नगर समितिका सभापति कोमलनाथ भुषाल, प्रदेश समिति क्षेत्र नम्बर ३ (ख) का सभापति लालबहादुर दवाडी, महासमिति सदस्य छविलाल भट्टराई, प्रदेश ३(क) का सभापति अमृत बाँनिया, कांग्रेस जिल्ला सदस्य देवकी गौतम, हेमलाल भट्टराई लगायतका अनसनस्थलमै छन् । गत वर्ष माघ १६ गते अनसन बस्ने घोषणा गरेका मेयरले प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट गरी माग सुनवाई हुने आश्वासन पाएपछि अनसन स्थगित गरेका थिए ।

यही फागुन ७ गते अनसन बस्ने घोषणा गरेका मेयर ठाकुरप्रसाद ढकालले १२ गते प्रधानमन्त्रीलाई भेट्न जाने कार्यतालिका बनेको भन्दै अनसन स्थगित गरेका थिए । पटकपटक आश्वासनका भरमा मेयर अनसन नबसेपछि वडाध्यक्ष पौडेल स्थानीयको समर्थनमा अनसनमा बसेका हुन् । अनसनरत पौडेलले माडी बहुउपेक्षित क्षेत्र भएकाले राज्यको ध्यानाकर्षण गराउन आमरण अनसन बसेको बताए ।

LEAVE A REPLY