बिकृत खेलबाट निस्कने ‘बिष फल’ मा आँखा नलगाऊ ः कांग्रेस युवा नेता कोइराला

0
138

भरतपुर । नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले नेपालमा हुने गरेका हरेक परिवर्तनको सार राम्रो भएपनि परिवर्तनलाई बिरासत बनाएर सरकारमा पुग्नेले परिवर्तनको मर्म अनुरुप काम गर्न नसकेको बताउनु भएको छ । कोइरालाले टुइट गर्दै परिवर्तनका सपनाहरुलाई परिवर्तनकै सारथीबाट खरानी बनाउने काम भएको बताउनु भएको हो । “भविष्यको सुन्दर सपना देखाएर मुलुकमा पटकपटक राजनीतिक परिवर्तन गरियो तर सपना सबै खरानी भए ।” कोइराला लेख्नु हुन्छ, “सपना गलत थिएन तर सपना देखाउनेहरुको नियत खराब भयो । सपना कार्यान्वयन गर्न सरकारमा पुगेकाहरु बेइमान ठहरिए ।”
उहाँले विश्व जगत नै कोरोना महामारीबाट थला परेको भन्दै नेपालमा कोरोनाको सुनामी आउन सक्ने चेतावनी दिनु भएको छ । उहाँका अनुसार सरकारले आफ्नो प्रभावकारितामा ध्यान नपुर्याए देशको समग्र क्षेत्र दुर्घटनामा पर्नेछ । सरकार र सरकारमा रहेको पार्टीको पछिल्लो गैरजिम्मेवारीपनले भयाबह स्थिति आउने उहाँको विश्लेषण छ ।
“कोरोना बिस्तारै आउँदैछ । एकदुईजना गर्दा गर्दै ९९ जना भए संक्रमित भइसके । अब नेपालमा कोरोनाको सुनामी आउन सक्छ । यस्तो बेला सत्ताधारी दलले केके काम गरिरहेको छ ? उनीहरुको तमासा र गैरजिम्मेवारी हामी हेरिरहेका छौं ।”
कोइरालाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संकटको बेला आफ्नो अभिभावकत्व देखाउनु पर्नेमा जोड दिनु भएको छ ।
“नेपाली कांग्रेस यो देशको अभिभावक पार्टी हो, अझ जिम्मेवार हुनु पर्छ । यो संकटको बेला कसरी जनताको दुखमा साथ दिन सकिन्छ, नयाँ सोच बनाऊँ, छलफल गरौँ।” केहि साता यता चलेको शक्ति र सत्ताको प्रभावमा नेपाली कांग्रेस पर्न नहुने भन्दै कोइरालाले आफ्नै पार्टिलाइ खवरदारी गर्दै लेख्नु हुन्छ, “खबरदार, सत्ताधारी दलको बिकृत खेलबाट निस्कने ‘बिष फल’ को लोभमा आँखा नलगाउ। जनताले पाँच वर्षका लागि दिएको ठाउँलाई कांग्रेसले बुझौं । जनताले दिएको प्रतिपक्षी हैसियतमा सन्तोष मानौं । जनताले दिएको हैसियतबाट कम्युनिष्टहरुले बाटो बिराउँछन् भने त्यो उनीहरुको कुरा हो । तर कांग्रेसले चाहिँ कम्युनिष्ट व्यवहार नगरौं । जिम्मेवार बनौं । जो जहाँ छौ, जुटौ, उठौ, पीडितको दुखमा सहयोगी बनौ।”

NO COMMENTS

LEAVE A REPLY