भुजेल गाउँमा पानी पुग्दा रमाएको मन !

0
173
पवित्रा पराजुली

केही दिन भयो म निकै खुशी छु ।

Advertisements

अनि सन्तुष्ट पनि अरुको नजरमा मेरो यो सुन्तुष्टि अनी खुशी सामान्य होला । केही व्यक्तिका लागि झ्याउलाग्दो पनि हुन सक्छ । तर मेरा लागि जिवनकै स्मरणीय समय बन्दिएको छ । प्रसंग पुरानो नेपाली भनाईबाट सुरु गर्न चाहन्छु, “हामीले जुन काम गरिन्छ त्यसमा सन्तुष्ट हुनुपर्छ ।” त्यासो भए सन्तुष्ट कसरी हुने ? वा सन्तुष्ट हुने आधार के त ?

शिक्षक आफुले पढाएको विद्यार्थीले राम्रो नम्बर ल्याउँदा वा राम्रो स्थानमा पुग्दा सन्तुष्ट हुन्छ । डाक्टर मृत्युको मुखमा पुगेको बिरामीलाई बचाउँदा सन्तुष्ट होला । अनि म जस्तै पत्रकारिता गर्ने पत्रकारहरु आँफुले लेखेको समाचारले जब प्रभाव पार्छ तब सन्तुष्ट हुन्छ । कुरा बुझ्नु पनि भयो होला ∕ यति धेरै कुरा लेखि सकेपछि । म आफ्नै पत्रकारिताको खुशी को अनुभव लेख्दैछु ।

नवलपुरनै घर भएको भएपनि यहाँका धेरै घरहरु, गाउँहरु मेरो लागि नौलो छन् । त्यसै मध्येको एक गाउँ थियो गैंडाकोटको भुजेल गाउँ । यद्यपी पत्रकारिता पेशाले गर्दा आजको मितिमा भने यो गाउँसँग म धेरै नजिकै भएको छु । पहिलो पटक सहकर्मी इन्द्र पोख्रेलको साथमा प्रत्यक्ष रिपोर्टिङका लागि म गैंडाकोट ३ को भुजेल गाउँ पुगेको थिए । सानो गाउँ, छरिएको बस्ती तर निकै सुन्दर । गाउँ प्रवेश गर्ने बित्तिकै शुस्मा भुजेलको घर आउँदो रहेछ । संस्कार पनि कति राम्रो जाने वित्तिकै पिढिमा भएको गुन्द्री तान्दै बस्न आग्रह गर्नुभयो । सहकर्मी इन्द्र गैंडाकोट ३ कै भएकाले उहाँलाई सबैले चिने तर मेरा लागि सबै नयाँ त्यहाँको लागि पनि म नयाँ । फेरी, पत्रकारिता गर्ने भएकाले होला स्वभावले नै म नयाँ मान्छेसँग परिचत र घुलमिल हुन खोजी हाल्ने । त्यहाँपनि धेरै सँग छिटै परिचित बने । तर अन्य ठाउँमा भन्दा यहाँ अल्लि गाह्रो भयो उहाँहरुको समस्या बुझ्न । मैंले मेरो परिचय दिने बित्तिकै रेडियोबाट भनेर बोल्न नै आउँदैन भन्ने उहाँहरुसँग कुरा गर्नै मुस्किल थियो । लजालु स्वभावका उहाँहरु, सुस्माजी कै घरको कुरा गर्ने हो भने पनि उहाँको आवाज मेरो रेकर्डमा रेकर्ड गर्न निकै बेर संवाद गर्नपर्यो । नजिक बनाउनलाई दिदिको सम्बन्ध पनि गाँसेर दिदि भन्न थाले, मेरो हातमा रेकर्डर देखेर शुस्मा दिदिले यो के हो ? भनेर सोध्दा मैंले रेकर्डर नभनि मोबाईल भनेर चिनाएको थिए । किनकी मलाई थाहा थियो त्यति बेला मैंले सिधै रेकर्डर हो हजुर बोलेको रेकर्ड हुन्छ भनेको भए उहाँ पक्का बोल्नु हुन्थेन । उहाँसँग सामान्य गफ गर्दै जाँदा थाहा भयो गाउँमा शौचालय रहेनछ । गैंडाकोट नगरपालिका भित्र पनि अझै यस्तो समस्या मलाई अचम्म लाग्यो । अनि मैंले सोंधे दिशापिसाब लागे कहाँ जानुहुन्छ त ? उहाँले सहज तरिकाले भन्नुभयो यत्रो जंगल छ, त्यही जाने । मैंले फेरी सोधे घरमा किन शौचालय नबनाएको ? उहाँले आधा बनेको शौचालय देखाउनुभयो । जहाँ शौचालयको भुई पक्कि थियो तर माथि भने बोराले बारेको त्यो पनि आधा च्यात्तिएको । नगरपालिकाले रिङ र शौचालय बनाउने केही सामान त गाउँमा दिएको रहेछ तर बार्ने इट्टा र बालुवा चै दिएनछ । भुजेल गाउँमा भएको ३५ घर मध्ये जम्मा चार–पाँच जनाको घरमा बाहेक अरुको घरमा शौचालय थिएन । शौचालय भएकाहरु पनि दिशापिसाब गर्न जंगल जाने गर्दा रहेछन् । मलाई लाग्यो यति सामान दिएपछि त अरु आफैले पनि बनाउन सक्थे । आफै बनाउन सकिन्न् भन्ने प्रश्नमा उहाँहरुको गुनासो पैसा नभएको भन्ने थियो । म बोल्न नपाउँदै शुस्माजीले भन्नुभयो – “हुन त शौचालय भए पनि के काम पानी छैन ।”

मलाई बल्ल थाहा भयो यहाँको मुख्य समस्या पानी रहेछ । पानी भए धेरै समस्या समाधान हुने मैंले महशुस गरे । वषौँदेखि धमिलो पानी खादै आएका यहाँ स्थानीय पानी लिन कम्तीमा पनि आधा घण्टा लाग्ने कुवामा जाने रहेछन् । रातभरि जनावरले खाएको पानी बिहान यहाँका स्थानीय गएर घरमा ल्याउने र सिधै पिउने गर्दा रहेछन् । फोहोर पानी खाएर कति बिरामी भए ? कुन–कुन रोग लाग्यो र लाग्छ थाहा नै छैन । मैले फेरी शुस्माजीलाई सोधे यहाँ खानेपानीको कुनै योजना परेको छैन ? उहाँले भन्नुभयो – “गाउँमा एउटा मोटर छ, त्यो बिग्रिएको धेरै भयो । बनाउनलाई कसैले पनि चासो दिएका छैनन् ।”

शुस्माजीसँगको यति कुरा पछि मैंले गाउँका अरुलाई पनि बोलाउन आग्रह गरे । सुस्माजीको श्रीमानले एउटा डाँडाबाट नाम लिएर बोलाउनुभयो । केही समयमा गाउँका सबै जना भेला भए । मैंले सबैसँग आलोपालो कुरा गरे । कुरा गर्दै जाँदा केही समस्या र केही सम्भावना पनि देखे तर मुख्य समस्या भने खानेपानी थियो । सबैसँग कुरा गरेपछि हामी विजय एफएम सुन्नु होला तपाईहरु बोलेको रेडियोमा आउँछ भन्दै निस्कियौं ।

आवाज रेडियोमा आउँछ भनेपछि केही लजाउनुभयो अनि केही चाँही खुशी भए । मैंले उहाँहरुलाई बोल्न आग्रह गर्दा हजुरहरु बोल्नुपर्छ । बोलेर आफ्नो समस्या भने समस्या समाधान हुन्छ भनेको थिए । जसले उहाँहरुको अनुहारमा केही आशा पनि थियो, त्यही कारण पनि उहाँहरु म सँग बोल्नुभयो । मलाई बाटोमा आउँदा धेरै कुरा खेल्यो त्यो दिन । भुजेल गाउँबाट फर्किदा साँझ परेकाले म अफिस नगई सिधै घर आए । मलाई राती कहिले उज्यालो होला र अफिस गएर सबै कुरा सहकर्मीहरुलाई सुनाउँला जस्तो भएको थियो ।

भोलिपल्ट अफिसमा हामी समाचार कक्षमा काम गर्ने सबै साथी समाचार कक्षमा सँगै थियौँ । मैंले भुजेल गाउँको सबै कुरा भने । गाउँमा शौचालय छैन भन्ने कुराले स्टेशन म्यानेजर श्रीधर उपाध्याय सरले खुल्ला दिशापिसाब मुक्त नगरपालिकामा यस्तो समस्या यसलाई प्राथमिकता दिएर समाचार लेख्नुस् भन्नुभयो । मलाई पनि रिपोर्टिङमा गएको सार्थक भएको अनुभुति भएको थियो । त्यसपछि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीलाई फोन गरी थप बुझेर समाचार लेखे । सहकर्मी साथीहरुको साथ र सहयोगले जुन समाचार विजय एफएमबाट प्रशारण पनि भयो भने विजय खबर पत्रिकाको पहिलो पृष्ठमा पनि यो समाचार छापियो । हामीले गैंडाकोट ३ मा रहेको समस्या पहिचान गरि समाधान गर्न र सम्भावना उजागर गर्न वडालाई नमुना ग्राम सञ्चार अभियानका रुपमा कामको थालनी गरेका थियौं ।

गाउँमा भएका समस्याका विषयमा निरन्तर समाचार प्रकाशन र प्रशारण हुन थालेपछि भुजेल गाउँमा नगरपालिकासँगै अन्य संस्थाको पनि ध्यान जान थाल्यो । पटक–पटक खानेपानीको समस्याको समाचार विजय एफएम १०१.६ र विजय खबर पत्रिकामा आएपछि रोटरी क्लब अफ गैंडाकोटको ध्यान भुजेल गाउँमा पुग्यो । रोटरी क्लब अफ गैंडाकोट र रोटरी क्लब अफ नारायणगढको सहकार्यमा भुजेल गाउँमा खानेपानीको योजना सुरु गर्ने कुरा भयो । त्यतिमात्र होईन केही समयमा नै खानेपानीको समस्या समाधान हुने गरि कामको थालनी भयो । यो कुरा सुन्दा निकै खुशी लाग्यो । विस्तारै रोटरीले पनि काम सुरु गर्यो । यसमा भुजेल गाउँका स्थानीयले पनि दिन–रात नभनी श्रमदान गर्न थाले । हामीले यो बीचमा नै नतुहियोस् भन्ने हेतुले प्राथमिकताका आधारामा फलो अप गरिरहेका थियौं । कहिले सहकर्मी माया कंडेलले त कहिले म आफैं रिपोर्टिङ्मा निस्कन्थ्यौं । यो विचमा अन्य मिडियाले पनि यहाँको समाचारलाई प्राथमिकता दिन थाले ।

केही समयपछि यसको फलोअपका लागि भुजेल गाउँ पुग्दा त्यतिबेला भने मलाई सबैले चिन्नुभयो । त्यो बीचमा हामीले त्यो गाउँ पुग्ने बाटोको बारेमा पनि रिपोर्ट मार्फत कुरा उठाएका थियौ । त्यसपछि वडा आफैले बाटो मर्मत गर्यो । स्थानीयले रिपोर्ट बजेपछि बिग्रिएको बाटो बन्यो भन्दै खुशी व्यक्त गर्नुभयो । सँगै म पनि खुशी भए ।

यस पटक भने मैंले उहाँहरुलाई बोल्नु भन्नै परेन उहाँहरु आँफै बोल्न आउनुभयो । रेकर्डरलाई पनि मोबाईन भन्नु परेन । कुरा गर्दै जादा शुस्मा दिदीले भन्नुभयो – “नानि हजुर आएर गएपछि त यहाँ त धेरै राम्रो भएको छ । यहाँका मान्छेलाई पनि बोल्न पर्ने रहेछ समस्या भन्यो भने मात्र समाधान हुने रहेछ भन्ने लागेको छ ।”

उता रोटरी क्लवले आफ्नो कामलाई निरन्तरता दिई रहेको थियो । यद्यपी दशैं अगाडि नै सक्ने भनेको काम विभिन्न कारणले गर्दा वैशाखमा सम्पन्न भयो । काम सम्पन्न हँुदा भुजेल गाउँको खुशी सँगैं मेरो पनि खुशीको सिमा रहेन । जेठ १२ गते भुजेल गाउँमा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल, गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, रोटरी क्लबका पदाधिकारी लगायत विभिन्न व्यक्तित्वहरुका बीच खानेपानीको उद्घाटन भयो । ३५ घरधुरीका लागि धारा पनि जडान भए । यो सुन्दा औधी खुशी लाग्यो ।

कोरोनाको कहर बीचमा पनि भुजेल गाउँमा खानेपानीको समस्या समाधान भएको छ । गाउँ खुशीले गद्गद् छ उहाँहरुको यो खुशीसँगै म पनि खुशी छु । प्रत्यक्ष म उपस्थित हुन नसके पनि सहकर्मी साथीहरुले यस विषयमा रिपोटिङ गरि सक्नुभएको छ । खानेपानीको सुविधासँगै गाउँमा अब शौचालय बन्ने विश्वास छ । एउटा पत्रकारलाई यो भन्दा खुशी अरु के हुन सक्ला र ? कोरोनाको कहर पछि फेरी एक पटक भुजेल गाउँ पुग्ने छु । उहाँहरुसँगै खुसी साट्ने छु, भुजेल गाउँमा सहज पानी पिउन पाएपछिका उहाँहरुका कथा तपाईलाई पनि सुनाउने छु ।

पबित्रा पराजुली, नवलपुर जिल्लामा रहेको नेपालकै उत्कृष्ट सामुदायीक रेडियो बिजय एफ.एम र बिजय खबर साप्ताहीकको संमाचार दाता हुनुहुन्छ । उहाँले ग्रामीण विकास र महिला शसक्तीकरणको विषयमा रहेर कलम चलाउदै आउनु भएको छ ।

LEAVE A REPLY