अन्नपुर्णको पशु आहार परियोजनाको कृषि तथा सहकारी मन्त्रालयका सचिवद्धारा निरिक्षण, ७० प्रतिशत काम सम्पन्न

0
77

भरतपुर । भरतपुर ६ स्थित अन्नपुर्ण दुग्ध उत्पादन सहकारीले निर्माण गरिरहेको पशु आहार उद्योगको बागमती प्रदेश भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा योगेन्द्र कार्कीले निरिक्षण गरेका छन् । प्रदेश सरकारको कृषि मन्त्रालय अन्तरगतको पशुपक्षीं तथा मत्स्य विकास निर्देशनालय र सहकारीको ५० प्रतिशत लागत साझेदारीमा उद्योग निर्माण भैरहेको छ । १ करोड बागमती प्रदेश सरकार र १ करोड ४६ लाख सहकारीले लगानी गर्ने गरी परियोजना सुरु भएको हो ।

परियोजना निर्माणको सचिव डा कार्की सहित पशु पक्षीं तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा हरि कुमार रघु श्रेष्ठ, कृषि विकास निर्देशनालयका निर्देशक रबिन्द्र प्रधान, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल र जिल्ला पशु अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख दयाराम चापागाईं लगाएतले निरिक्षण गरेका हुन्। निरिक्षणका क्रममा सचिव कार्कीले परियोजना निर्माण उत्साहजनक रहेको पाएको प्रतिक्रिया दिए । उनले कोरोना महामारीका कारण भएको लकडाउनको विषम परिस्थितिमा पनि परियोजनाले आफ्नो कामलाई निरन्तरता दिइरहेको प्रति सकारात्मक प्रतिक्रिया दिए । सचिव डा कार्कीले परियोजनाले पशु आहारमा आत्मनिर्भर बन्न प्रेरित गरि पशु आहारमा लागत न्यूनीकरण गर्न तर्फ लाग्न सुझाव दिए ।

निरिक्षणका क्रममा परियोजनाको करिव ७० प्रतिशत काम सम्पन्न भैसकेको देखिएको छ । परियोजनाको २०७६ फागुन ४ गते सम्झौता भएको थियो । अहिले ६३ सय स्क्वायर फिटको भवन निर्माण भैरहेको छ । न्युनतम लागतमा गुणस्तरीय काम भैरहेको पाइएको पशु पक्षीं तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा हरि कुमार रघु श्रेष्ठले बताए ।

अन्नपुर्ण दुग्ध उत्पादन सहकारीका अध्यक्ष ऋषिराम चापागाईंले पशुपालनलाई व्यवसायीकरण र आधुनिकरण गर्नका लागि संस्थाले पशु आहार उद्योग संचालन गर्न लागिएको बताए । उनका अनुसार १३ कठ्ठा क्षेत्रफलमा उद्योग संचालनमा आउने छ । लगानी गरिने २ करोड ४६ लाख मध्ये १ करोडको भौतिक संरचना लगाएत मासदाना, साइलेज प्याकिङ्ग मेसिन, टीएमआर मेसिन, ट्याक्टर, मकै काट्ने मेसिन, ट्रान्सफर्मर, ट्रक खरिद प्रक्रिया सकिएको छ । मासदाना मेसिनले प्रति घण्टा ५ टन दाना उत्पादन गर्ने छ । उद्योग बाट पशु दाना, साइलेज, टिएमआर उत्पादन गरिने छ ।

सहकारीले अहिले दुग्ध संकलन, प्रसोधन, बजारीकरण, गाइ फर्म, दाना मिल, बचत तथा ऋण कार्यक्रम, भ्याक्सिनेसन, युवा स्वरोजगार कार्यक्रम संचालन गर्दै आएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत केन्द्र सरकारबाट ७५ लाख लगानीमा ३८ जना युवाले गाइ पालन गर्दै आएका छन् । २०४१ सालमा ५० जना कृषकबाट १ सय ३५ लिटर दुध संकलन गरेर सुरू गरिएको सहकारीले हाल ७ हजार लिटर दुध प्रसोधन गर्दै आएको छ । सहकारीमा ३ सय ९० सेयर सदस्य सहित ६ सय भन्दा बढी कृषक आवद्द छन् ।

LEAVE A REPLY