‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ तालिम सुरु

0
35

चितवन । चितवनका युवा पत्रकारहरुको लागि ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयमा दिइएको तीन दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा चितवनका विभिन्न मिडियामा कार्यरत १६ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै नेपालस्थित अमेरिकी दाजदूतावासका पब्लिक अफेयर्स अफिसर कर्टिस एम चानले प्रविधिको विकाससँगै अहिले अमेरिका र नेपाल सबैतिर गलत र भ्रामक सूचनाहरु फैलने खतरा रहेको बताउनु भयो । उहाका अनुसार ब्रेकिङ समाचार दिने नाममा महत्वपूर्ण सूचनाहरु छुट्ने सम्भावना पनि रहन्छ । पत्रकारिता महत्वपूर्ण पेसा पनि भएकोले पेसालाई अझ जिम्मेवार बनाउन भ्रामक सूचनाको रोकथाम सम्बन्धी तालिम महत्वपूर्ण हुने उहाको बिश्वास छ ।

कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले चितवनलगायत कतिपय जिल्लाका मिडियाबारे भ्रामक सूचनाको प्रसारणबारे गरिएको अध्ययनमा आधारित भएर तालिम सञ्चालन गरिने बताउनु भयो । यो तालिम पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दे मिडियालाई जिम्मेवार बनाउनमा केन्द्रित हुने उहाँको विचार थियो ।

त्यसैगरी कार्यक्रममा अमेरिकी राजदूतावासकी सूचना विज्ञ प्रेरणा मरासिनीले पत्रकारिता स्वतन्त्र र स्वच्छ हुनुपर्छ भन्ने कुरामा आफूहरु विश्वास गर्ने बताउनु भयो । प्रतिस्पर्धाले गर्दा पनि गलत सूचना प्रसारित हुनसक्छ त्यसैले तथ्यको परीक्षण गर्ने सीप सिकाउनमा तालिम सहयोगी हुने उहाँको विश्वास थियो । ‘कहिले जानीजानी त कहिले यथार्थ नबुझेर तथ्यलाई बङ्ग्याउने गरिएको छ जसले पत्रकारिताप्रतिको विश्वसनियता घट्ने गर्छ’ सूचना विज्ञ मरासिनीले भन्नुभयो ।

आजको तालिममा मिडिया एक्सनका अध्यक्ष पन्त र बंगलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक डा मोफिजुर रहमानले भ्रामक समाचारको पहिचान र जनअभिरुचिबारे प्रशिक्षण दिनुभयो । भोलि बिहीबार हुने तालिममा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ र मिडिया एक्सनका अध्यक्ष लक्ष्मणदत्त पन्तले भ्रामक र गलत समाचारबारे प्रशिक्षण दिनुहुन्छ । त्यसैगरी तेस्रो दिन शुक्रबार हुने तालिममा फोटो पत्रकार चन्द्रशेखर कार्की र अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मिडिया एक्सनकी प्रियंका झाले सहजीकरण गरेको तालिमको संयोजन मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले गर्नुभएको छ ।

LEAVE A REPLY