लकडाउनमा पौडेल दाजुभाईको चमत्कार : घरमै गल्फ कार

0
162

शिव शर्मा भरतपुर। विश्वब्यापी रुपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउन धेरैले सदुपयोग गर्न सकेनन् । सत्य तितो हुन्छ भने झैँ अधिकांशको अधिक समय सुतेरै बित्यो । तर भरतपुर ६ इन्द्रपुरीका २ दाजु भाईले भने कोरोनाको कहरलाई अवसर बनाए । पहिल्यै देखि नवप्रवर्तन र अनुसन्धानमा सौखिन दाजुभाई सफल पौडेल र कुसल पौडेलले लकडाउनमा गल्फ कारको मोडेल बनाउन तम्सिए । बिषेशतः भाई कुसलले गल्फ कारको परिक्षण गर्न योजना नै बनाए । भाईको योजनालाई दाइ सफलले साथ दिए । उनीहरु करिव १ महिना कबाडी सामान जुटाउन चितवनका विभिन्न ठाउँमा पुगे । कोसिस गरे सफल पक्कै हुन सकिन्छ भने झैँ कुशलको कुशल योजना र सफलको साथले डेढ महिनामा नै सफलता प्राप्त गरे ।

Advertisements

“सानै देखि केहि निर्माण गरौ भन्ने लागेको थियो, बाबा ममीले इलेण्ट्रिक काम गर्दा हामीले पनि केहि गर्न सकिन्छ कि भन्ने सोच आएको थियो।” कुशलले भने, “एसइई सकेपछि बनाउने योजना थियो। लकडाउनले एसइई दिन त पाइएन तर समयको सदुपयोग गर्न सकियो।” उनले हरेक युवामा आफ्नो आफ्नो प्रतिभा हुने तर त्यसलाई चिन्न परिवारको साथ आवस्यक हुने बताए । परिवारको साथका कारण गल्फ कार निर्माण सम्भव भएको उनको भनाइ छ । २० किलोमिटर प्रति लिटर चल्ने गल्फ कार निर्माण गर्न १ लाख लागत लागिसकेको छ । ५ लाख सम्ममा कार निर्माण गर्न सकिने पौडेलको भनाइ छ।

“हरेक नवप्रबर्तनलाई सरकारले प्रोत्साहन गर्नु पर्छ । सृजना र अनुसन्धानलाई लगानी गर्न सकेमा विदेशिने मुद्रा नेपालमा नै बचत हुने थियो । तर सरकारले नवप्रबर्तनलाई खासै बढवा दिएको पाइदैन। सरकारले उत्प्रेरणा दिए मात्र युवाको ‘फ्रेस ब्रेन’ लाइ ‘ब्रेन ड्रेन हुनबाट बचाउने थियो।” फोपा कलेज अफ इञ्जिनियरिङ्गमा स्नातक पढ्दै गरेका सफल पौडेलले भने, सरकारको लगानी र साथ बिना बृहत अनुसन्धान गर्न सकिदैन । स्वदेशी अनुसन्धान र उत्पादनलाई स्थान दिनै पर्छ ।”

छोरा छोरीको चाहना अनुरुप शिक्षा र हौसला प्रदान गरे सफलता धेरै टाढा नरहेको पौडेलका माता शर्मिला पौडेलको बुझाई छ ।

गल्फ कारमा १ पल्सर मोटरसाइकलको इन्जिन प्रयोग गरिएको छ । बत्ति, हर्नको लागि सोलार जडान गरिएको छ । मारुती भ्यान र अटोरिक्साको चक्का राखेर निर्माण गरिएको गल्फ कारबाट आफुहरुले पुर्वमा नारायणगढ र पश्चिममा जगतपुर सम्मको सफल परिक्षण गरिएको पौडेलद्वयले बताए।

प्रोत्साहन स्वरुप भरतपुर वडा न ६ ले एक लाख दिने

गल्फ कार बनाएका पौडेल दाजुभाइलाई भरतपुर महानगरपालिका वडा न ६ ले एक लाख प्रोत्साहन स्वरुप सहयोग गर्ने भएको छ । आज वडा न ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले नव प्रतिभा र नवप्रबर्तनको क्षेत्रमा उदाहरणीय काम गरेका पौडेल दाजुभाईलाई आर्थिक, प्रशासनिक लगाएतमा साथ दिने बताएका हुन् । साथै वडा न ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले स्थानीय स्तरमा अनुसन्धानलाई प्रथामिकता दिन उचित बाताबरण मिलाउन आफुहरुको ध्यानाकर्षण भएको बताए । अंकुरण एकेडेमीले कुसल पौडेललाई कक्षा ११÷१२ अध्ययनका लागि २ बर्षको छात्रवृति दिने घोषणा गरेको छ ।

LEAVE A REPLY