जनताको सेवामा समर्पित हुन निजामति कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

0
53

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ ।

Advertisements

निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको हो ।

उहाँले कर्मचारीलाई राष्ट्रिय एकताको भावनामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनसमेत आग्रह गर्नुभएको छ ।

सन्देशमा उहाँले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालका विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक शासन व्यवस्थामा कर्मचारीको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको बताउनु भएको छ ।

उहाँले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरूको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको समेत बताउनु भएको छ ।

उहाँले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिएका राष्ट्रसेवकप्रति सम्मानसमेत प्रकट गर्नुभएको छ ।

विसं २०१३ भदौ २२ गते तत्कालीन टंकप्रसाद आचार्य नेतृत्वको सरकारले नेपालमा पहिलो पटक निजामती सेवा ऐन ल्याएको थियो ।

यसैको स्मरणमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिएको छ । यसैबीच, हरेक वर्ष दिइँदै आएको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार यस वर्ष पनि नदिइने भएको छ ।

दिवसका अवसरमा निजामती सेवामा रहेर उत्कृष्ट र राम्रा काम गरेका कर्मचारीलाई पुरस्कृत गर्ने कानुनी व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार हरेक वर्ष एकजनालाई २ लाखको सर्वोत्कृष्ट निजामती पुरस्कार, १० जनालाई १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजारको निजामती सेवा पुरस्कार दिने गरिएको थियो ।

२०७३ साल पछि कसैलाई पनि यो पुरस्कार दिइएको छैन ।

LEAVE A REPLY