संवैधानिक इजलासमा थन्किन्छन् मुद्दा

0
45

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा धाँधली गर्दै आफूलाई झिनो मतले हराएको भन्दै कांग्रेसका युवा नेता प्रदीप पौडेलले दिएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेर साढे दुई वर्षसम्म अड्केको छ। तनहुँ–२ मा निर्वाचन अधिकृतको मिलिभगतमा सदर मतलाई बदर गर्दै ५ मतले हराएको दाबी पौडेलको थियो।

Advertisements

द्वन्द्वकालको एउटा हत्या घटनासँग जोडेर तत्कालीन सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाको पदबहाली रोक्न मागसहित २०६८ सालमा काभ्रेकी पूर्णिमाया लामाले दिएको रिटमा अझै अन्तिम फैसला भएको छैन। त्यसअघि अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पर्ने गरी लेखेर समाचार छापेको भन्दै पत्रकार कनकमणि दीक्षितविरुद्ध सापकोटाले दिएको मुद्दा पनि अझै थाती छ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले सापकोटामाथि छानबिन र फौजदारी कारबाहीको मागसहित २०७२ सालमा दिएको रिटले पनि निकास कुरिरहेको छ। यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमाथि प्रश्न उब्जाउँदै नरेन्द्रकुमार काफ्ले र धु्रवप्रसाद यादवलगायतले २०६८ सालमा दिएको रिटमा पनि छिनोफानो हुन बाँकी छ। यी तीनवटै मुद्दा न्यायको हकसँग जोडिएका छन्।

संवैधानिक इजलासमा सार्वजनिक सरोकारका रिट झन्डै दुई सयको संख्यामा थन्किएका छन्। यीमध्ये ४९ वटा पाँच वर्ष पुराना रिट हुन्। सातामा बुधबार र शुक्रबार मात्र संवैधानिक इजलास तोकिन्छ। प्रधानन्यायाधीशको नेतृत्वमा गठित उक्त इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भुरप्रसाद श्रेष्ठ छन्।
‘कोरानाका कारण सुनुवाइमा भएको संकुचनले संवैधानिक इजलास पनि प्रभावित छ। लकडाउनअघि सातामा दुई दिन मात्र सुनुवाइ हुन्थ्यो’, सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले अन्नपूर्णसँग भने, ‘लकडाउनका कारण हाल इजलासका कामकारबाही रोकिएको अवस्था छ।’

सहप्रवक्ता ढकालले नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यताका विषयमा सुनुवाइका लागि तय गरिएको असोज १४ गतेको पेसी प्रधानन्यायाधीशले तोक्ने विषय भएकाले यसबारे आफूले केही भन्न सक्ने अवस्था नरहेको बताए। सर्वोच्चले बुधबार गौतमलाई संवैधानिक जिम्मेवारीको कुनै काममा नलगाउन अन्तरिम आदेश दिँदै विवादको निप्टाराका लागि संवैधानिक इजलासमा पठाएको हो। सर्वोच्चका न्यायाधीश डा।आनन्दमोहन भट्टराईको एकल इजलासले यही असोज १४ गते संवैधानिक इजलासमा छलफलमा उपस्थित हुन रिट निवेदक र विपक्षीलाई आदेश दिएको छ। राष्ट्रियसभा सदस्यमा गौतमको मनोनयन रोक्ने वा नरोक्ने विषयमा सोही दिन संवैधानिक इजलासमा छलफलका लागि पेसी तय भएको हो।

नागरिकका मौलिक हकको संरक्षण एवम् गम्भीर प्रकृतिका संवैधानिक विवादमा सुनुवाइ गर्न संविधानले संवैधानिक इजलास गठनको व्यवस्था गरेको छ। मौलिक हक संरक्षणका मुद्दा मात्र नभई संघ र प्रदेश, प्रदेश–प्रदेश, प्रदेश–स्थानीय तह तथा स्थानीय तह–स्थानीय तहबीचको अधिकार क्षेत्र विवाद हेर्ने अधिकार पनि यसै इजलासलाई तोकिएको छ। संघीय संसद् वा प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी विवाद र संघीय संसद्का सदस्य वा प्रदेशसभा सदस्यको अयोग्यतासम्बन्धी विवाद हेर्ने दायित्व पनि इजलासकै भएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

LEAVE A REPLY