पौडेल–सिटौला मोर्चाबन्दीमा संशय

0
42

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहमा मोर्चाबन्दी गरेर पार्टी सभापतिविरुद्ध आन्दोलन गर्ने तयारी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छ ।

Advertisements

सभापति शेरबहादुर देउवाले विधानविपरीत गतिविधि गरेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै पौडेल समूह ध्यानाकर्षणदेखि अनशनसम्मको विरोधको कार्यक्रम गर्न तयारी अवस्थामा छ ।

देउवाको स्वेच्छाचारितामा असन्तुष्ट रहेपनि कृष्णप्रसाद सिटौला समूह भने पौडेल समूहसँग मोर्चाबन्दी गरेर अघि बढ्ने सम्भावना कम देखिन्छ ।

नेता कृष्णप्रसाद सिटौलाले इच्छा नदेखाएपछि देउवाविरुद्ध गर्ने भनिएको पौडेल–सिटौला मोर्चाबन्दीमा संशय पैदा भएको छ ।

दबाबको नाममा पौडेल समूहले एकलौटी केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेसँगै नेता सिटौला हच्किएको बुझिएको छ ।

सिटौलानिकट केन्द्रीय सदस्यहरु हस्ताक्षर गर्न तयार भएपनि नेता सिटौलामा भने महाधिवेशन भाँडिनसक्ने भय पलाएको छ ।

यसअघि भएको बैठकमा पार्टी नेतृत्वविरुद्ध चरणबद्ध आन्दोलन गर्ने सहमति बनेपनि सिटौलाले भने महाधिवेशन प्रभावित हुनसक्ने बताउँदै आउनुभएको छ ।

पौडेल र सिटौला दुवै समूहले भदौ २० गते भएको बैठकले विधानविपरीत भनिएका निर्णय फिर्ता गराउन सभापति देउवालाई सातदिने अल्टिमेटमसहित लिखित र मौखिक दुवै ध्यानाकर्षण बुझाउने निर्णय गरेको थियो ।

यस्तै, केन्द्रीय सदस्यहरु, पार्टीका जिल्ला सभापतिहरु, सांसदहरु, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरुसँग अन्तरक्रिया गर्ने र त्यहाँबाट प्राप्त राय सुझावसहित पत्रकार सम्मेलन गर्ने, जिल्ला तथा पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिने, रिले अनशन बस्ने र अन्तिम अवस्थामा केन्द्रीय कार्यालयमा आमरण अनशन बस्नेसम्मको तयारी छ ।

म्याद सकिएपछि विभाग गठनमा भएको तीव्रता, पार्टी समायोजन र क्रियाशील सदस्यता वितरण, भ्रातृसंस्थाहरुको म्याद थप्ने सभापति देउवाको निर्णयलाई पार्टीभित्र रुचाइएको छैन ।

पौडेल समूहले देउवाका पछिल्ला गतिविधिहरुलाई १४औं महाधिवेशनबाट संस्थापन पक्षले पुनः नेतृत्व हत्याउने खेलकोरुपमा व्याख्या गरिरहेको छ ।

नेतृत्वका गतिविधिहरु विधानविपरीत भएको निष्कर्ष सिटौला समूहको पनि छ ।

‘भर्चुअल’ छलफलमा सिटौला समूहका प्रभावशाली नेताहरुको उपस्थिति भएपछि पौडेल–सिटौला समूहको कार्यगत सहकार्य हुने सम्भावनाको विषयमा चर्चा भएको हो । देउवाविरुद्ध मोर्चाबन्दी भएमात्र आफूहरु सफल हुनसक्ने बुझाइ पौडेल समूहको छ ।

पार्टीमा सभापति देउवाको स्वेच्छातारिता बढेकाले व्यक्तिवाद हावी भएको निष्कर्ष सिटौला समूहको पनि छ । भर्चुअल बैठकमा सिटौलानिकट नेताहरुले राखेको धारणा पनि यस्तै हो ।

संस्थापन पक्ष महाधिवेशनको अन्योल बढाउँदै जाने र इतर समूह झगडामात्र गर्दै जाने हो भने कांग्रेस महाधिवेशनको तिथि झन्-झन् सर्दै जाने सम्भावना बढ्दो छ ।

LEAVE A REPLY