निकम्मा सरकारी संयन्त्र, सीप सिकाउन दिएको बजेट बर्सेनि फ्रिज

0
19

काठमाडौं । बेरोजगार युवालाई सीप सिकाई स्वरोजगार बनाउन सरकारले करोडौं रुपैयाँ बजेट दिए पनि सरकारी संयन्त्र खर्च गर्न चुकेका छन् ।

Advertisements

युवालाई सीपमूलक तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले गत वर्ष व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानलाई २० करोड रुपैयाँ दिएको थियो । प्रतिष्ठानले एक आर्थिक वर्षमा एक करोडमात्र खर्च गरेको छ । यो विनियोजित बजेटको ५ प्रतिशत हो ।

पछिल्लो श्रम सर्वेक्षणअनुसार मुलुकमा बेरोजगारी ११।४ प्रतिशत छ । तीन करोड जनसंख्यामध्ये ७९ लाख जना काम गर्ने उमेर समूहमा पर्छन् । यसको ११।४ प्रतिशत भनेको ९ लाख हो ।

अहिलेको समयमा कुनै पनि सीप नसिकेको व्यक्तिलाई रोजगारी पाउन वा स्वरोजगार बन्न धेरै समस्या छ । अर्कोतिर विदेश जाने युवाले पनि सीप सिकेका भए जोखिम कम र आकर्षक तलब सुविधा भएको रोजगारी पाउने अवस्था रहन्छ । सरकारले यसैलाई ध्यानमा राखी युवालाई सीपमूलक तालिम दिन करोडौं बजेट विनियोजन गर्दै आएको छ । तर सरकारकै निकम्मा संयन्त्रका कारण बर्सेनि यस्तो बजेट फ्रिज हुने गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पनि २४ करोड रुपैयाँ छुट्याएको छ ।

प्रतिष्ठानका अधिकारीहरु पछिल्ला तीन वर्षयता बजेट खर्च हुन नसकेको स्वीकार गर्छन् । चालु आर्थिक वर्ष पनि बेरोजगारलाई सीप, तालिम सिकाउने बजेट खर्च गर्न सक्ने सम्भावना नदेखिएको लाचारी उनीहरु प्रकट गर्छन् । ‘सीप र तालिम दिने निकाय, योजना र प्रशिक्षार्थीको इच्छाशक्ति हेर्दा यो वर्ष पनि कार्यक्रम सफल हुने सम्भावना न्यून छ,’ प्रतिष्ठानका निर्देशक पुरुषोत्तम अधिकारीले भने । उनका अनुसार अहिलेको आवश्यकता जसलाई जे चाहिएको छ, सोही अनुसार कार्यस्थलमा सीप सिकाउनु हो । अहिले तय गरिएका कार्यक्रम आवश्यकतामुखी नभएको उनले बताए । तय भएका कार्यक्रमअनुसार तालिम दिने हो भने सीप सिकेकालाई कहाँ रोजगारी दिने भन्ने पनि प्रस्ट नभएको उनको भनाइ छ ।प्रतिष्ठानले कार्यक्रममा राखेका २५ प्रकारका तालिमका लागि एक सय ६० देखि ६ सय २० घण्टासम्म समय छुट्याइएको छ । ती सबैतालिम लिन बेरोजगारले कुनै पनि शुल्क तिर्नुपर्दैन ।नागरिक दैनिकबाट

LEAVE A REPLY